रुकुमपश्चिम । रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेको डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले बताए ।
उनीहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ । आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् ।