काठमाडौं,साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र भारत बीचको पहिलो हाफको खेलमा भारतले नेपाल बिरुद्ध १ गोलको अग्रता लिएको छ । भारतका लागि मोम्सर गोयारीको हेडरलाई साहिलले डिबक्स भित्रबाटै गोल गर्न सफल रहे । यस अघि पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । यु १९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल युनास, शाह जहान, अलि जफर, खुर्सिद आलम, मुहम्मद सदाम र कमिल अहमद खानले गोल गरेका थिए ।
त्यस्तै भुटानका लागि किञ्जाङ तेन्जिङ, जिग्मे नाम्ग्येल, रिन्जिन दोर्जी, उग्यन दोर्जी र पेमा जाङपोले गोल गरे । छेत्रीम पेलजाङको पेनाल्टी भने पाकिस्तानका गोलरक्षक साहिल गुलले रोकेका थिए । पाकिस्तानले फाइनलमा नेपाल र भारतबीचको विजेता टोलीसँग खेल्ने छ ।