काठमाडौँ । इन्द्रजात्राका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।
उनले इन्द्रजात्राले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गरे ।
नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवार समुदायले यसजात्रा लिङ्गो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन् ।
प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताएका छन् । उनले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गरेका छन् ।