काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान नपा–६ गणेश चोकस्थित नवनिर्मित भवनको उद्घाटन गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक समारोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्घाटन गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारलेबैंकसँग सहकार्य गर्ने बताउँदै बैंकमार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै व्यवसायीलाई बैंकसँग व्यावसायिक कारोबार गर्न आग्रह गरे । उनले विपन्नवर्गको सशक्तीकरणका लागि विनाधितो कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । उनले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए ।
बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा ब्रान्च अपरेसन विभागका प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संघीय सांसदहरू रामशंकर यादव, गंगाप्रसाद यादव तथा प्रदेश सांसदहरू राजेन्द्र चौधरी, राजकुमार गुप्ता, ललिता दाश, बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, विभागीय प्रमुख दामोदर ज्ञवाली, मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरू, स्थानीय, जनप्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।