काभ्रेपलाञ्चोक । बिहीबार काभ्रेपलाञ्चोकको बनेपामा आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।
उनले जनताका मुद्दामा केन्द्रीत भएर आफूहरु अघि बढेको जिकिर पनि गरका छन्े । “हामी जनताका साना–साना मुद्दामा ध्यान दिन्छौँ, उहाँहरुका काममा साथ दिन चाहान्छौँ, चिनीको मूल्य घटाउनेतर्फ पनि अब सम्बन्धित ठाउँमा पुग्नेछौँ, सडक तताउँदैनौँ”, लामिछानेले भने । उनले आफ्ना नेता तथा कार्यकर्ताले जनतालाई सडकमा आउ भन्ने होइन, अब धान काट्न बोलाउनुस् भनेर जनतासँग आग्रह गर्नुपर्नेमा जोड दिए ।
नेता लामिछानेले रास्वपाले भ्रष्टाचारलगायत आपाराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको र अब एकैपटक २०८४ मा मात्रै बोल्ने बताए । “हामी आम नागरिकलाई सास्ती हुनेगरी जनतालाई सडकमा उतार्दैनौँ, सबै बेथितिको अन्त्य आउँदो २०८४ को निर्वाचनले गर्नेछ”, उनले भने ।
रास्वपा सांसद मनिष झाले कार्यक्रममा बोल्दै हरेक आयोजना सञ्चालन गर्दा भविष्यलाई मध्यनजर गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले रास्वपाले जनताका आवश्यकतालाई मसिनो ढङ्गले अध्ययन गरी समाधान गर्दै जाने बताए । सो अवसरमा रास्वपाका नेता रमेश खरेल, जिल्लाध्यक्ष प्रवीण ढकाललागायतले नगर भेलालाई शुभकामना दिएका थिए ।