काठमाडौँ । सङ्घीय संसद्मा पेस भएको सङ्घीय शिक्षा विधेयकका सम्बन्धमा देखिएको असन्तुष्टिलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले निष्कर्ष निकालेको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले वार्ता र संवादका माध्यमबाट शिक्षा विधेयकमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गरेर जानुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
शिक्षकले केही दिन पहिले विधेयकका सम्बन्धमा असन्तुष्टि जनाउँदै काठमाडौँ केन्द्रित प्रदर्शन गरेका थिए । सरकारसँगको वार्तापछि अधिकांश शिक्षक नियमित काममा फर्केपनि राहत शिक्षकहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । उनीहरुले उठाएको माग संविधानको मर्म र भावनालाई ख्याल गरेर सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको प्रवक्ता सापकोटाको भनाइ थियो ।
यस्तै बैठकले स्वास्थ्यकर्मी तथा चिकित्सकले उठाएका माग पनि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आफूहरुमाथि आक्रमण भएको भन्दै चिकित्सकले प्रदर्शन गरिरहेका छन् । मुलुकका विभिन्न भागमा सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि देखापरेको भन्दै माओवादी केन्द्रले समयमै सचेतता अपनाउनुपर्नेमा जोड दिएको छ ।
पार्टीले अगाडि बढाएको जनतासँग माओवादी अभियानलाई थप प्रभावकारी बनाउने र जनताको विश्वास जित्नेगरी अगाडि बढ्नुपर्नेमा आजको बैठकमा विशेष जोड दिइएको उनको भनाइ थियो । सरकारले अगाडि बढाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै प्रवक्ता सापकोटाले सो कार्यका लागि सरकारलाई साथ दिनसमेत सबैलाई आग्रह गरे ।