काठमाडौं । नेपालमा हरेक क्षेत्रमा भ्रष्टाचार, अनियमितता र अपराध व्याप्त छ । नेपालीहरू संसारभर फैलिएका छन् । धेरै राम्रा काम गर्नेहरू पनि छन् । तर, कोही भने केही न केही अपराधमै व्यस्त छन् । एक नेपालीले भने विदेशी मुलुकका कागजात समेत नक्कली बनाएर नेपाल सरकारलाई नै बेबकुफ बनाएका छन् । नेपालमा व्यवसाय गर्दै आएका ऋषि बडाल एमालेका नेता केशव बडालका भतिजा हुन् ।
उनै ऋषिले नेपाली सरकारी निकायमा अफ्रिकन युनियनको इथिपिया र अर्को मुलुक तान्जानियाँको सरकारी निकायको कागजात किर्ते गरेको भेटिएको छ । अहिलेको विज्ञान प्रविधिको युगमा समेत बडालले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय मातहत रहेको पशु सेवा विभागकै मिलेमतोमा अन्तर्राष्ट्रिय निकायको कागजात किर्ते गर्न सफल भएका हुन् ।
नेपालमा विगत दुई वर्षदेखि महामारीको रूपमा फैलिएको गाईभैँसीमा देखिने लम्पी स्किन डिजिज अर्थात् एलएसडी रोगविरुद्धको खोपकाण्डमा यस्तो रहस्य खुलेको हो ।
पशु सेवा विभागले नेपालमा विश्व पशु स्वास्थ्य संगठन (डब्लूओएएच)ले निर्धारण गरेको खोपसम्बन्धी प्राविधिक मापदण्डबमोजिम खोप आयात गर्न दिने सूचना निकालेको थियो । सोही मापदण्डअनुसार तीनवटा कम्पनीहरूले खोप आयातका लागि अनुमति पाएका थिए । यसरी अनुमति पाउनेमध्येकै कान्तिपुर भेटले नक्कली कागजात तयार
पारेको हो ।
विश्वभरका मुलुकमा पशुका लागि दिइने खोप विश्व पशु स्वास्थ्य संगठनको सहयोग केन्द्रका रूपमा स्थापित प्रयोगशालाबाट प्रमाणित भएको हुनुपर्छ । विश्व स्वास्थ्य संगठनले यसरी स्थापित गरेको प्रयोगशालामध्ये अफ्रिकन युनियनले स्थापना गरेको एयू प्यान भ्याक नामक प्रयोगशाला इथियोपियामा छ ।
सोही एयू प्यान भ्याकको प्रमाणपत्र नक्कली बनाएर कान्तिपुर भेट डिस्टिब्युटर्सले आम किसानलाई नक्कली भ्याक्सिन वितरण गरिरहेको खुलेको थियो । कान्तिपुरले विभागमा पेस गरेको एयू प्यान भ्याकको सर्टिफिकेट एयू प्यान भ्याककै आधिकारिक प्रतिनिधिमार्फत भेरिफाइ गराउँदा नै नक्कली भएको पुष्टि भएको हो । विभागमा कान्तिपुरले पेस गरेको भ्याक्सिन क्वालिटी सर्टिफिकेट समेत पेस गरेको छैन ।
आर्थिक दैनिकले यस विषयमा खुलासा गरेपछि हाल विभागले नै छानबिनको नाटक गरेको छ । जब कि विभागकै अधिकारीको मिलेमतोमा भएको यो किर्तेकाण्डमा अख्तियार वा प्रहरीले छानबिन गर्नुपर्ने हो । विभागका सूचना अधिकारी चन्द्र ढकालले आफूहरूले छानबिन गरिहेको बताएका छन् । जब कि यो काण्डमा उनको समेत शंकास्पद भूमिका छ ।
विभागमा कान्तिपुरले हेस्टर बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियाद्वारा उत्पादिन खोप सर्टिफाइड भएको प्रमाण पेस गरेको छ । जसमा रिपोर्टको डिटेल क्यूसीआर अर्थात् क्वालिटी कन्ट्रोल रिपोर्ट २१०७ मा डिटेल रहेको बताइएको छ । तर, उक्त रिपोर्ट गायब छ ।
विभागकै भेटेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला बूढानीलकण्ठका कर्मचारी नविन उपाध्याय घिमिरे समेत यो काण्डमा मुछिएका छन् । तर, उनी पनि अहिले छानबिन गरिरहेको बताउँछन् । कान्तिपुर भेटले हेस्टर बायोसाइन्स अफ्रिका लिमिटेड किबाह तान्जानियाबाट उत्पादित एलएसडी भ्याक्सिन बिक्री गरिरहे पनि हालसम्म उक्त कम्पनीले एलएसडी भ्याक्सिन उत्पादनको अनुमति नै पाएको छैन ।
एलएसडी भ्याक्सिन हेस्टरले पाएको हालसम्मको ‘अपडेट’मा देखिँदैन । जसको ‘लिंक’मा समेत हेर्न सकिन्छ । त्यस्तै कान्तिपुर भेटले पेस गरेको सर्टिफिकेटमा भ्याक्सिनको नाम (एलएसडी लम्पी सिल्ड—एन) उल्लेख छ । जब कि यो जोभ्याक नामक कम्पनीले उत्पादन गरेको भ्याक्सिन हो ।
जोर्डन बायोइन्डस्ट्रिजले उत्पादन गर्दैै आएको छ । एयू प्यान भ्याकले उपलब्ध गराउने सक्कली प्रमाणपत्रमा क्यूसीआर रिपोर्टकोे डिटेल हुनेगरेको छ । तर, उनले पेस गरेका कागजातमा क्यूसीआरको रिपोर्ट नै गायब छ ।
यसरी भयो तान्जानियाको मन्त्रालयको कागजात किर्ते
पशु सेवा विभागले खोप आयातका लागि प्राविधिक मापदण्ड (एलएसडी होमोजिअस भ्याक्सिन–निथलिङ्ग स्ट्रेन) न्यूनतम टीसीआईडी ह १०३.५ हुनुपर्ने उल्लेख छ । सोही मापदण्डलाई पालना गरेको देखाउन कान्तिपुर भेटले तान्जानियाँको स्वास्थ्य मन्त्रालय मातहत रहेको मेडिसिन एन्ड मेडिकल डिभाइसेस (टीएमडीए) ‘लेटरहेड’ भएको कागजात समेत किर्ते गरेको देखिन्छ ।
पशु सेवा विभागमा रहेको टीएमडीएको कागजात एउटा र त्यहीँ उल्लेख भएको क्यूआर कोडमा अर्कै कागजात देखिन्छ । कागजमा ‘नेम अफ प्रडक्ट’अन्तर्गत ‘कमन नेम’ भनेर लाइभ एचुनेटेड लम्पी स्किन डिजिज, स्ट्रेन निथलिङ उल्लेख छ ।
तर, सोही कागजमा रहेको क्यूआर गर्दा खुल्ने पेजमा निथलिङ भन्ने शब्द नै देखिँदैन । त्यति मात्रै होइन बडालले आफूसँग सक्कल कागजात रहेको दाबी गर्दै सञ्चार माध्यममा दिएको कागजातमा पनि सन्देहपूर्ण छ । जसमा विभागले उल्लेख गरेको मापदण्डबारे केही उल्लेख छैन । जब कि सक्कली कागजातमा भने यस्तो देखिँदैन ।