मानसरोवर (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार चीनको छेन्दु जाँदै छन् । शुक्रबार बिहानको उडानमा प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट छेन्दु जान लागेको हो ।
उनी स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्ने छन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आजै साँझ रात्रिभोजको पनि आयोजना गर्नेछन् ।
प्रधानमन्त्री दाहाले बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेर विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण पनि गरे । प्रधानमन्त्री दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए ।
चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । एक सातादेखि प्रधानमन्त्री दाहाल चीनको औपचारिक भ्रमणमा रहेका छन् ।