काठमाडौं । राजधानीमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा दुई दिनमा १७ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा चलेको एक्स्पो ‘के हामी आत्मनिर्भर छौं ?’ भन्ने थिमका साथ सुरु भएको आयोजकले जनाएको छ।
इन्द्रजात्राको अवसरमा भएको बिदाका कारण पनि एक्स्पोमा सहभागीको भीड लागेको आयोजकको भनाइ छ । एक्स्पोमा सञ्चालित खुला बजारमा पनि उपभोक्ताको चहलपहल धेरै देखिएको आयोजकको भनाइ छ ।
फर्नेक्स २०२३ को आयोजक संघका महासचिव सञ्जय लामाका अनुसार बिहीबार मात्र १० हजारभन्दा धेरैले एक्स्पो अवलोकन गरेका छन् । एक्स्पो सुरु भएको दिन बुधबार पनि सात हजारले अवलोकन गरेका थिए । आगामी आइतबारसम्म चल्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको लामाले जानकारी दिए ।