सप्तरी । शुक्रबार बिहान सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगीनियास्थित दलित बस्तीमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । भगवती मन्दिर नजिकै रहेको रोहित रामको घरमा आगलागी हुँदा चारवटा जस्ताले छाएको घर, खाद्यान्न सामग्री, दुई गाई, दुई साइकल, लत्ताकपड़ा, भाँडाकुँडा, फर्निचरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले जनाएको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक शत्रुघ्न राउतका अनुसार गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको हो । आगलागीका कारण करिब रू. सात लाख बराबरको क्षति भएको उनले बताए । स्थानीयवासी, हनुमानगर कङ्कालिनी नगरपालिकाको वारुणयन्त्र र हनुमाननगरको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।