काठमाडौँ । उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा सुन तस्करी प्रकरणमा छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलपछि उक्त निर्णय गरिएको छलफलमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमालेलगायतका दलले सुन तस्करी प्रकरणका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्म उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो । आयोगलाई छानबिनका लागि तीन महिनाको समय दिइनेछ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आयोग गठनको निर्णयबारे सदनलाई जानकारी गराउने छन् ।
यसअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आइतबार विहान छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री दाहालले सत्तारुढ दलसँग पनि सो विषयमा छलफल गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक आइतबारको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको उपस्थिति थियो ।