महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २५
सोलुखुम्बुको खुम्बु क्षेत्रलाई सदरमुकामसँग सडक मार्गले जोड्ने ओर्लाङघाटमा बन्दै गरेको माप्य–खुम्बु मितेरी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । खुम्बु पासङ ल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिका सिमानामा निर्माणाधीन मोटरेबल पुलको काम करिब ९० प्रतिशत सकिएको माप्यदूधकोशी गाउँपालिकाका उपाध्यक्ष जुनितामाया मगरले जानकारी दिइन् । मगरका अनुसार ढलानको कामबाहेक स्टिल ब्रिज निर्माणलगायतको सबै काम सकिएको छ । ढलानको काम पनि बिहीबारबाट सुरु हुने उपाध्यक्ष मगरको भनाइ छ ।
माप्य दूधकोशी, खुम्बु पासाङ ल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्मित माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम जेठ १५ मा उद्धघाटन गर्नेगरी तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । सगरमाथा क्षेत्रलार्ई सडक सञ्जालले जोड्ने लक्ष्यका साथ निर्माण गरिएको माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिजको गत मंसिर १३ गते प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङल्हमु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पालगायतले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।
कुल चार करोड ३४ लाख ८० हजारको लागतमा निर्माण जारी रहेको पुलको जलप नेपालले निर्माण जिम्मा पाएको थियो । गाउँपालिकाको गौरबको आयोजनाको रूपमा लिइएको उक्त योजना मौसम प्रतिकुलता र विश्वमा महामारीको रूप लिइको कोरोना भाइसरको प्रभावको बाबजुद पनि समयमा नै सम्पन्न हुन गाउँपलिका अध्यक्ष राईले बताए । यो पुल निमाण भएपछि विश्वको सर्वोच्च शिखर रहेको गाउँपालिका खुम्बु पासाङ ल्हामु गाउँपालिकासम्म सवारी आावतजावतमा सहज हुने विश्वास गरिएको छ ।