काठमाडा । ‘औषधी तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै नेपाल औषधी व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधी व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै सभामुखलाई ज्ञापनपत्र बुझाइएको हो ।
संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ‘औषधी तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’मा नेपाल औषधी व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘औषधि जस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्षभन्दा बढी यही क्षेत्रमा योगदान गरेको महत्त्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधी व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्योहोरासमेत अवगत गराउँदछौं ।’
ज्ञापनपत्र बुझाउन उपाध्यक्ष रामचन्द्र शर्मा, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राटमान जोशी, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बद्रिप्रसाद श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष ईन्द्रवीर महर्जन, भक्तपुर जिल्ला अध्यक्ष नारायणप्रसाद भूसाल, काठमाडौं जिल्ला महासचिव शुभमान श्रेष्ठलगायतका पदाधिकारी गएका थिए । सभामुख घिमिरेले संघको मागबारे आफ्नो ध्यानकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने बताएका छन् ।