काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति योजनाको कार्य फिल्डमा प्रारम्भ हुनेमा आशंका गरिएकै बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त परियोजना तोकिएकै समयमा पूरा हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे–रातमाटे–हेटौडा–दमौली–न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता पनि मन्त्री बस्नेतले व्यक्त गरेका छन् ।
एमसीसी कम्प्याक्ट सम्झौताको शुभारम्भको उपलक्ष्यमा यसै साता नेपाल भ्रमणमा आएकी एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा मन्त्री बस्नेतले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाएका हुन् ।
प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिलगायतका प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवको परियोजनाका रूपमा त्यसलाई समावेश गरेर महत्व दिएको स्पष्ट पारे । महत्वपूर्ण परियोजना भएकाले सरकारले पनि उत्तिकै प्राथमिकता दिएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सहज कार्यान्वयन गराउनेतर्फ सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि आवश्यक सहमति भएको सन्दर्भ जोड्दै मन्त्री बस्नेतले भने, ‘सो प्रसारण लाइन हाम्रा लागि असाध्यै महत्वपूर्ण छ, यसलाई सहजरूपमा समयमै सम्पन्न गर्नुपर्छ । त्यसमा सरकार दृढ छ ।’
नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथरूपमा विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएको परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने सरकारको बुझाइ तथा विश्वास रहेको मन्त्री बस्नेतको भनाइ छ ।
एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पु¥याउने परियोजनाका रूपमा आफूहरूले यसलाई लिएको बताइन् । उनले एमसीए नेपालमार्फत कार्यान्वयनमा गएको प्रसारण लाइन र सडक सुधार आयोजना सहजरूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गरिन् ।
गत भदौ १३ गतेदेखि एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच २०७४ भदौ २९ मा मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो । लामो बहसपछि संसद्ले गतवर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसीसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम सुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी प्रावधान छ ।