काठमाडौँ । भोलि बुधबारदेखि नेपालमा चट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । चट्याङविद् प्रा.डा. श्रीराम शर्माले सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
सम्मेलनमा भारत, अमेरिका, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, ब्राजिल, फ्रान्स, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उनको भनाइ छ । विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा छलफल हुने छ ।
चट्याङविद् डा. शर्माका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उनले बताए ।