झापा । मुद्दा मिलाई दिन्छु भन्दै एक लाख रूपैयाँ ठगी गरेको अभियोगमा दमक नगरपालिकाका ३८ वर्षीय शिव नारायण सिंह पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार दिउँसो दमक बजारबाट पक्राउ गरेको हो ।
दमक नगरपालिका बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दिपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउन सुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिव नारायणले उक्त नगद ठगी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।