काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल (रिगल)को कैद सजाय माफी गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आफ्नो पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी गर्ने राष्ट्रपतिको निर्णय बदरको माग गर्दै नेपालगञ्जका स्व.चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् ।
उनले ढकाललाई फेरि कैदमा पठाउन माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग गरेकी छन् । उक्त निवेदनमाथि दुई पटक पेशी तोकिएपनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन् ।
२०७२ असारमा नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु ढकालको खुकुरी प्रहारबाट भएको थियो । घटनापछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी ल्याएको थियो ।
मृतक चेतनकी श्रीमती भारतीले आज(मंगलबार) पत्रकार सम्मेलन गर्दै आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् । उनले आममाफीविरुद्ध भोलिदेखि काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गर्ने घोषणा गरेकी छन् ।