काठमाडौं । नेपालगन्जस्थित जमुनाहा नाकामा भारतको विभिन्न ठाउँबाट आएर जम्मा भएका आठ सयभन्दा बढी नेपाली नागरिक अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका हुन् ।
उनीहरुले तत्काल आफूहरूलाई गन्तव्यसम्म पठाउने व्यवस्था गर्न माग गरिराखेका छन् । उता प्रशासनले भने गन्तव्य स्थलसम्म पुर्याउनका लागि प्रहरीले समन्वय सुरु गरेको जनाएको छ । रोकिएर बसेका नेपाली नागरिकलाई नेपाल प्रहरी र सार्वजनिक गाडीको व्यवस्थापन गरी कर्फ्यु क्षेत्रको सीमाबाहिर राँझा चोकसम्म पुर्याउने व्यवस्था गरिएको बाँके प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहासम्म मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । अहिले नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गर्नुका साथै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रहरी प्रशासनले अनुरोध गरेको छ ।