काठमाडौं । दुर्घटनामा परी धादिङका दुई बालकसहित पाँच जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा गत सोमबार यता दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।
धादिङ, गजुरी गाउँपालिका–२ मझुवास्थित सडकमा प्रदेश २–०३–००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट २ जनाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिद्वलेक गाउँपालिका–६ परेवाटार बस्ने राजकुमार श्रेष्ठको छोरा १५ वर्षीय निर्मल श्रेष्ठ र सोही ठाउँ बस्ने उद्वब श्रेष्ठको छोरा १५ वर्षीय संजिव श्रेष्ठ रहेका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
मोरङ, कटहरी गाउँपालका–४ लोहन्द्रा पुलस्थित सडकमा को.२३ प ५१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार घनपालथान गाउँपालिका–७ बस्ने २५ वर्षीय रवि मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा बागमती प्रदेश ०१–०२८ च ६४५७ नम्बरको पिकअप गाडीले हाल नम्बर नखुलेको अनटेस्ट स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक महोतरी बर्दिबास नगरपालिका–३ बस्ने ४५ वर्षीय काजी कुमार कार्कीको मृत्यु भएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित सडकमा प्र.२–०२–००४ प ४८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङजा वालिङ नगरपालिका बस्ने ३९ वर्षीय लक्ष्मण भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको उपचार भइरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।