काठमाडौं । विभिन्न देशका मुद्रासहित एक विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका, सिंगापुर, भारत, नेपाललगायत देशका मुद्रासहित एक अमेरिकी नागरिक पक्राउ परेका हुन् ।
विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपालीलगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थानसहित अमेरिकी नागरिक ७० वर्षीय डेभिड एलन हार्वुडलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थाई उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला परेकाले पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।