काठमाडौं । ओखलढुङ्गा लिखु गाउँपालिका–४ का १७ वर्षीय सनि कार्कीको हत्या अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौं क्षेत्रपाटी बस्दै आएका कार्कीको काठमाडौंस्थित हनुमानढोका परिसरमा धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धारिलो हतियार प्रहारबाट गत सोमबार राति गम्भीर घाइते भएका कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ पर्ने अभियुक्तमा काठमाडौं महानगरपालिका घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भई हाल काठमाडौं बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।
घटना अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौंस्थित मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुरबाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।