खजुरा (बाँके) । नेपालगञ्जमा लागेको ‘कर्फ्यु’का कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेको उनले जानकारी गराएका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको उनले बताए ।
पहिलो चरणमा करिब पाँच सय नेपाली जमुनाहादेखि राँझासम्म पठाइएको प्रहरीले जनाएको छ । दसैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् । कर्फ्यूपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कपर्यू जारी गरेको थियो । बुधबार बिहानसम्म कर्फ्यू उल्लङ्घनका घटना नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।