काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कृषि विभागले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ।
बुधबार मन्त्री भुषाललाई रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट वाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्ने नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
मन्त्री भुषाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यहाँका बहुसङ्ख्यक नागरिकको मुख्य आयस्रोत कृषि हो । सो क्षेत्रलाई धान र फेरा खेतीको पकेट क्षेत्रका रूपमा लिइन्छ । आम जनताले न मल बेलामा पाउछन्, न त बिउ राम्रो पाउँछन्, न कृषि उपज सरकारले तोकेको समर्थन मूल्यमा किनिदिन्छ ।”
चौधरीले गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएको विषयमा छानबिन, स्थानीयस्तरमा उत्पादित कृषि उपजको तथ्याक सङ्कलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने माग गरिएको बताए ।
उनका अनुसार कृषिमा सुलभ कर्जा, बीमा सहुलियत तथा सहज पहुँचका लागि बीमा कम्पनी, बैंक, वित्तीय संस्थासँग साझेदारीमा सुलभ कर्जा कार्यक्रम सञ्चालन, केरा खेतीमा देखिएको रोगको नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।