काठमाडौं । दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध सवा तीन करोडभन्दा बढी भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रानाभाटविरुद्ध विशेष अदालतमा आज(बुधबार) भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०४६ साल असार ३० गते सरकारी सेवा प्रवेश गरेका रानाभाटले २०७९ साल कात्तिक ६ गतेसम्म ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार रानाभाटको सो रकम बराबरको सम्पत्तिको स्रोत नखुलेकाले अख्तियारले मुद्दा दायर गरेको हो ।
रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरेको अख्तियारले जनाएको छ । भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति रानाभाटले श्रीमती राधा रानाभाटको नाममा समेत जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात गरेको भन्दै अख्तियारले श्रीमती राधाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
अख्तियारले रामबहादुरविरुद्ध सवा तीन करोडभन्दा बढी रकम बिगो दाबी गरी मुद्दा दायर गरेको छ भने उनकी श्रीमती राधाविरुद्ध बिगो दाबी गरिएको छैन । उनीसँग रहेको गैरकानुनी सम्पत्ति जफत प्रायोजनका लागि मुद्दा दायर गरिएको हो ।