काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २९ वर्षीय युवा पक्राउ परेका छन् । तनहुँ व्यास नगरपालिकाका रन्जन पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
हाल काठमाडौं बस्दै आएका पाण्डेले चार जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई फुड डेलिभरीमा एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।
ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।