काठमाडौं । सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाइ सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ । बैठकले जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कुल एक सय ७२ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले
गरेको छ ।
मन्त्रिपरिषद्ले नेपाल गणुस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यान्वयनका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (बुधबारको विदेशी मुद्रा विनिमय दरअनुसार करिब नेरु १३ अर्ब ३५ करोड) सहुलियतपूर्ण ऋण तथा तीन दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।