चीन । चिनियाँ कूटनीतिज्ञहरूले चीनको आर्थिक आधारहरू अपरिवर्तित भएको दाबी गरेका छन् । चीनको आर्थिक वृद्धिलाई दीर्घकालीनरूपमा दिगो बनाउने आधारभूत कुराहरू अपरिवर्तित रहेको एक चिनियाँ वरिष्ठ कूटनीतिज्ञले मंगलबार न्युयोर्कमा रहेको चाइना इन्स्टिच्युटको १९औँ कार्यकारी शिखर सम्मेलनमा भनेका हुन् ।
सम्मेलनमा न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूत ह्वाङ पिङले चिनियाँ अर्थतन्त्रमा लचिलोपन, पर्याप्त सम्भावना र बलियो जीवन शक्ति कायम रहने बताए । ह्वाङले देशमा प्रचुर वृद्धिको सम्भावना रहेको र साझा विकासका लागि अन्य सबै देशहरूसँग अवसरहरू बाँड्न तयार रहेको बताए ।
चीनका प्रमुख औद्योगिक फर्महरूले अगस्टमा नाफामा बलियो रिबाउन्ड गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलव दुई प्रतिशतले बढी हो । चीनको अर्थतन्त्र र व्यापारिक वातावरणमा हालैका उदास रिपोर्टहरूभन्दा फरक तरिकाको टिप्पणी हुआङले गरेका हुन् । पछिल्लो समय चीनमा विदेशी लगानी प्रभावित भइराखेको छ । चीनको स्टेट काउन्सिलले हालै जारी गरेको विज्ञप्तिमा विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई तीव्र पार्ने विषय उल्लेख थियो ।
चीनले केही विदेशी फर्महरूका लागि सीमापार डाटा प्रवाह नियमन मानकलाई कम गर्ने बाचा पनि गरेको छ । स्थानीय नियामकहरू र बहुराष्ट्रिय कम्पनीहरूले गत महिना सांघाईमा भएको वार्तामा स्थानीय अधिकारीहरूले करिब एक चौथाइ मुद्दाहरूलाई चाँडै सम्बोधन गर्ने बाचा गरेका थिए ।