काठमाडौं । बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने प्रधामन्त्री प्रचण्डले बताएका छन् । बिहीबार बिहान सिंहदरबारमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्रीले प्रभावित नागरिकलाई राहतका प्रक्रिया अघि बढाइने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बैठकमा राहत र पुनर्निर्माणको काम छिट्टै कार्यान्वयन हुने बताउँदै भूकम्पको क्षति, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका बारेमा छलफल गरेका थिए । काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको बताउँदै उनले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिने जानकारी गराए ।
गत मंगलबार दिउँसो बझाङमा शक्तिशाली भूकम्प गएर एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । व्यक्तिगत घर तथा सार्वजनिक भवनहरू जिल्लाका धेरै ठाउँमा भत्किएका छन् ।