काठमाडौँ । दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै राष्ट्रियसभाका सांसदहरुले अनुगमनको माग गरेका छन् ।
चर्को मूल्य तिरेर पनि म्याद सकिएका अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको जनाउँदै बिहीबारको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले सबैखाले खाद्यवस्तु सर्वसुलभ र सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।
बझाङ जिल्लामा गएको भूकम्पबाट एक जनाको मृत्यु र केही व्यक्ति घाइत भएको घटनाप्रति सांसद कृष्णप्रसाद पौड्यालले दुःख व्यक्त गरे ।
उनले भने, “भूकम्पबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था, खाद्यान्न लत्ताकपडा, औषधिलगायत सामग्रीको के कस्तो व्यवस्था गरिएको छ, घाइतेको उपचारका लागि सरकारले अहिलेसम्म के गरेको छ ? यसको यथार्थ विवरण जानकारी गराउन सरकारलाई अनुरोध गर्दछु ।”