काठमाडौं । नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उनीहरुलाई सम्मान गरेका हुन् ।
मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एशियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका प्रहरीका पाँच जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उचो भएको उल्लेख गरे । आफू भित्रको स्पोर्टस् म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीहरूलाई उनले आग्रहसमेत गरे । ‘यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको छ’, भन्दै महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको र यसप्रति संगठन गम्भीर रहेको उल्लेख गरे ।
कार्यक्रममा सम्मानित खेलाडीतर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठनमा आवद्ध भएकोमा गौरव महसुस गरेको बताए । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति थियो । साथै, बिहीबारै स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सहसचिव प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।