सोलुखुम्बु, वैशाख २६
सोलुखुम्बु सोताङ गाउँपालिकाकी एक युवतीमा कोरोना आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । करिब एक हप्ताअघि उदयपुरबाट सोताङ आएकी २८ वर्षीया युवतीमा आरडीटी परीक्षण पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्मचन्द राजवंशीका अनुसार बुधबार गरिएको आरडिटीमा रिपोर्ट पोजेटिभ देखिएकोे हो । उदयपुरबाट परिवार सहित फर्किएकी युवतीलाई सुरुदेखि नै क्वारेन्टिनमा राखिएको थियो ।
उनलाई अहिले सोताङ गाउँपालिकाले निर्माण गरेको आईसोलेसन वार्डमा राखिएको छ । योसँगै जिल्लामा आइसोलेसनमा राखेर उपचार गराउनेको संख्या २ पुगेको छ । सोताङमा देखिएको बिरामीको स्वाब संकलनका लागि ओखलढुंगा जिल्ला अस्पतालकबाट प्राविधिक टोली सोताङ पुगेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको टोली लिखुपिकेका युवामा पनि आरडिटि पोजेटेभि देखिएपछि त्यता खटिएकाले सोताङमा ओखलढुंगाबाट ल्याब टेक्निसियनसहितको टोली झिकानुपरेको बताइएको छ ।
जिल्लाको लिखुपिकेमा पनि मगंलबार एक युवकको आरडीटी रिपोर्ट शकांस्पद देखिएको थियो । जिल्लाबाट गएको टोली लिखुपिके पुगेर स्वाब सकंलननको कार्य गरेको गाउँपालिकाले जनाएको छ । उनीहरूको स्वाब परीक्षणका लागि धरान पठाइने जिल्ला स्वास्थ कार्यालय सोलुुखम्बुले जनाएको छ । स्वाब सकंलन गर्ने जिल्लामा एक जना मात्रै दक्ष जनशक्ति हुँदा समस्या भएको बताइएको छ । एकै पटक दुई स्थानमा संकास्पद बिरामी भेटिएपछि छिमेकि जिल्लाबाट टोली बलाउनु पर्ने अवस्था आएको हो ।