काठमाडौं । प्रधान सेनापति ट्रफी २०८० खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार प्रतियोगिताको उद्घाटन गरेका हुन् । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका जम्मा १४ वटा टिमको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।
जङ्गी अड्डास्थित खेल मैदानमा आयोजित उद्घाटन कार्यक्रममा सैनिक तालिम महानिर्देशक, उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने नेपाली सेनाका ओलम्पियनहरू संस्थागत स्मृतिको पुञ्ज रहेको बताए । समारोहमा प्रधान सेनापति ट्रफीमा सहभागी पृतना तथा बाहिनीका टिमहरूले मार्चपासका साथै, विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सुरक्षासम्बन्धी जिम्मेवारी समेत निर्वाह गरिरहेको नेपाली सेनाले यस वर्षको बाघ गणनामा बाघको सङ्ख्या दोब्बरभन्दा बढी भएको उत्साहपूर्ण उपलब्धिको स्मरणमा प्रधान सेनापति ट्रफीमा बाघलाई मास्कटको रूपमा राखी उद्घाटन समारोहमा बाघको मास्कट समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी तथा सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको एसियन ट्«याक एण्ड फिल्ड च्याम्पियनसिपको म्याराथन विधामा पहिलो अन्तर्राष्ट्रिय पदक (कास्य) हासिल गर्ने नेपाली सेनाका ओलम्पियन जमदार जीत बहादुर केसीलाई पदक प्राप्त गरेको स्वर्ण जयन्तीको उपलक्ष्यमा प्रधान सेनापतिले कदरपत्र प्रदान गरेका थिए । यस्तै, बिहीबार नै सम्पन्न महिला आठ मिटर दौड तथा पुरुष ४×४०० मिटर रिले दौडका विजेतालाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबललगायतका खेलहरू सञ्चालन हुने बताइएको छ । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गर्ने अभिप्रायका साथ विसं २०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरु भएको नेपाली सेनाले जनाएको छ ।