पाटन (ललितपुर) । शङ्खमूलस्थित यल दरबारमा शुक्रबार आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राखेका छन् ।
उनले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताए ।
“सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य सङ्घले पु-याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन”, मन्त्री रिजाल भने ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताए । उनले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनीरुपमा सहयोग गर्न तत्पर रहेको धारणा राखे ।
औद्योगिक नीतिमा भएको दोहोरोपन र अनावश्यक करलाई हटाउनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले आफ्नो धारणा राखे । उनले अहिले नेपालको अर्थतन्त्रका बारेमा नकारात्मक प्रचारप्रसारका कारण समस्या बल्झिएको बताए । उद्योग व्यवसायीलाई सहज हुने गरी करको दर घटाएर करको दायरा बढाउनुपर्नेमा उनको जोड थियोे ।
सरकारले व्यवसायीलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उद्योग वाणिज्य महासङ्घका नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले जोड दिए । उनले साना तथा घरेलु कार्यालयले गर्ने तालिम प्रभावकारी नभएको र लगानी खेर गइरहेको उल्लेख गर्दै तालिमका सन्दर्भमा उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गर्न आग्रह गरे । उनले उद्योगी व्यवसायीले अहिलेको ब्याजदर बढी भएको हुँदा ब्याज तिर्न नसक्ने अवस्थामा रहेको बताए ।
हाल देखिएको समस्या समाधानका लागि तरलता व्यवस्थापन र ब्याजदरमा स्थायित्व कायम गर्न सरकार र राष्ट्र बैंकले ध्यान दिनुपर्ने ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले बताए ।