काठमाडौँ । देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुरोध गरेकी छिन् ।
सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिएको सार्वजनिक सन्देशमा उनले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण गराएकी छिन् ।
“समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्ने गरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।” पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।
उनले विविधताबीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति भएको उल्लेख गरिन् । नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात् गर्नु पर्ने उनले बताइन् ।
उनले सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको बताइन् ।
“हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन ।” भण्डारीले भनिन् ।
इतिहासको अवशेषका रूपमा समाजमा अझसम्म कायम रहेका कतिपय कुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तर्क्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै जानुपर्नेमा जोड दिँदै उनले हामीले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाइमा पु-याउन आवश्यक रहेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिने उल्लेख गर्दै भनिन्, “हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताले यही शिक्षा दिँदै आएका छन् ।”
उनले हाम्रासामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौती भए पनि हामीभित्रको सङ्कल्प बलियो रहेको विचार प्रकट गरिन् । उनले राष्ट्र निर्माणका लागि कटिबद्ध रहेको उल्लेख गर्दै प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गका रूपमा स्वीकार गरिएको महसुस गर्न सक्नुपर्नेमा जोड दिइन् ।