एनआरएनएको ११औँ महाधिवेशनमार्फत नेतृत्व चयनको मिति नजिकिँदै जादाँ गैरआवासीय नेपालीहरु नेपाल आउने क्रमसँगै पक्राउ पुर्जी जारी भएर फरारको सूचीमा रहेका एनआरएनएको आलोपालो अध्यक्ष कुल आचार्य हाकाहाकी नेपाल प्रवेश गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निकायले थाहा पाएर पनि थाहा नपाएजस्तो गरेर बसेको थाहा भएको छ । यसअघि आलोपालो अध्यक्ष बनेका आचार्य शुक्रबार काठमाडौं आएका हुन् ।
उनी दोहोरो पासपोर्ट (नेपाल र बेलायत)को प्रयोग गरेको र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको विषयमा छानबिनको दायरामा परेका व्यक्ति हुन् ।उनलाई एनआरएनएको अध्यक्ष पदका उम्मेदवार आरके शर्मालाई समर्थन गर्ने सर्तमा प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको बताइएको छ ।यसअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेको र उनका सुपुत्र जयवीर देउवालाई लण्डन रहँदा पठनपाठनको क्रममा आफूले अभिभावकत्व प्रदान गरेको धाक लगाउँदै हिँड्ने आचार्य पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेलका सुपुत्र चिन्तन पौडेलसँग जोडेर आफूलाई प्रस्तुत गर्न रुचाउने गर्दछन् ।
दोहोरो पासपोर्ट प्रयोग गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेका आचार्यको नेपालमा पुख्र्यौली घर पर्वतमा रहेका छ र उनी लण्डनमा होली–काउ नामक रेष्टुरेन्ट सञ्चालन गर्ने गर्दछन् ।यसअघि कुमार पन्तसँग चुनाव लडेका आचार्य नेपाल आएर ललितपुरमा रहेको आफ्नो निवासमा बसेका छन् ।पन्तसँग चुनाव लड्दा आफूलाई आफैँले आक्रमण गराएर पन्तले आफूलाई आक्रमण गरेको भन्दै प्रहरीको उजुरी गरेका आचार्यको विषयमा छानबिन गर्दा आक्रमण नभई गुलेली हानेको देखिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तनसँग विशेष सम्बन्ध राख्दै आएका आचार्य अहिले स्रोत नखुलेका सम्पत्ति कमाउने नेताहरुका लागि बेलायतमा लगानी गराउनदेखि स्रोत नखुलेको सम्पत्तिलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।नेताहरुसँग विशेष सम्बन्ध भएकै आधारमा पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई प्रहरीले खुलेआम छोडेको हो ।
दोहोरो राहदानी लिएको भन्दै उनीविरुद्ध नेपालको परराष्ट्र मन्त्रालयको साथै उजुरीको बोधार्थ गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, पर्वत र नेपाली राजदूतावास, लण्डनमा उजुरी परेको थियो ।
बेलायती राहदानी साथमा हुँदाहुँदै सन् २०१४ को जुलाई ०६ मा २४१८१६१ नम्बरको नेपाली राहदानी लिएका र नवीकरणपश्चात् हाल ०७५८५०३९नम्बरको नेपाली राहदानी बोक्ने गरेका आचार्यलाई तत्कालीन नेपाली कार्यबाहक राजदूत तेजबहादुर छेत्रीले सन् २०१३ मा नेपाली एनआरएन कार्ड बनाइदिएका थिए ।
गैरआवासीय नेपाली संघ केन्द्रका वर्तमान अध्यक्ष र बेलायतका पूर्वअध्यक्ष कुल आचार्य सन् २००२ मा जर्मनी हुँदै बेलायत प्रवेश गरी सन् २००६ मा बेलायती नागरिकको हैसियतले पहिलो पटक बेलायती राहदानी लिएको र तत्पश्चात् सन् २०१२ र २०२२ मा राहदानी नवीकरण गरेको उजुरीमा छ ।
आचार्यको हालको राहदानी २७ सेप्टेम्बर २०२२ मा जारी भएको छ र उक्त राहदानी सन् २०३२ सेप्टेम्बर २७ सम्म बहाल हुने देखिन्छ । निजको हालको राहदानी नम्बर १२४७६११४० हो । आचार्य बेलायत गएपछि उनले नेपालको समेत राहदानी लिएको बताइएको छ ।
आचार्यले नेपालको राहदानी (२४१८१६१) लिएको रेकर्डमा देखिन्छ भने उक्त राहदानी सन् २००४ डिसेम्बर १० सम्म बहाल थियो । उक्त राहदानी सन् २०१४ जुलाई ६ गते नवीकरण गरेर हाल निजसँग राहदानी नम्बर ०७५८५०३९ साथमा छ ।
नेपालको प्रचलित नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा (१) मा नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन र दफा (१३)मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन र बर्जित कार्य गरेमा दफा २१ बमोजिम समय हुने भन्ने उल्लेख छ ।
त्यसैगरी राहदानी ऐन २०७६ को दफा २१ बमोजिम झुट्टा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिन प्रयत्न गरेमा कसुर गरेको मानिने व्यवस्था छ । त्यस्तो कार्य गर्नेलाई दफा २२ बमोजिम तोकिएको सजाय समेत हुने कानुनी प्रावधान पनि छ ।
‘निज कुल आचार्य सन् २००२ मा गैरकानुनी माध्यमबाट जर्मनी हुँदै बेलायत प्रवेश गर्नु भएको थियो । उहाँ सन् २००२ मा विदेश जाँदा भुटानी शरणार्थीको हैसियतमा जानुभयो । निजको राहदानी नवीकरणको निवेदन विवरण हेर्दा मिति २०४६।०२।२३ मा ५११४७५७ नम्बरको नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालयबाट लिएको पुष्टि हुन्छ,’ उजुरीमा भनिएको छ ।
आचार्यले सन् २००२ मा बेलायत प्रवेश गरेपछि सन् २००६ मा पहिलो पटक बेलायती राहदानी लिएको रेकर्ड पाइएको दाबी छ । उक्त राहदानी सन् २०१२ सम्म बहाल थियो । राहदानीको म्याद सकिएपछि उनले पुनः नवीकरण गरे र अहिले उनीसँग भएको राहदानी नम्बर १२४७६११४० बेलायती रातो पासपोर्ट भएको प्रमाण परराष्ट्र मन्त्रालयमा बुझाइएको छ ।
सन् २०१२ देखि २०२२ सम्म बेलायती नागरिकको हैसियतले लिएको राहदानी बहाल रहेको बखत नेपाली नागरिकको हैसियतले झुट्टा विवरण व्यहोरा पेस गरी सन् २०१४ मा लण्डनबाट आवेदन दिई नेपालको राहदानी लिएको देखिएको उल्लेख गर्दै यस विषयमा छानबिन गरी आचार्यलाई प्रचलित नेपाल कानुनबमोजिम कारबाही गर्न अनुरोधसहित एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले उजुरी हालेका थिए ।