काठमाडौं । नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक इजरायलमाथि शनिबार बिहानै भएको प्यालेस्टिनी लडाकुहरूको आक्रमणले धेरैको रोजगारीमा असर पर्ने देखिएको छ । इजरायलमा चार हजार पाँच सय बढी नेपाली रोजगारी र अध्ययनमा रहेको अनुमान छ ।
प्यालेस्टिनी लडाकुहरूले गाँजापट्टीबाट हवाइ, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेपछि त्यहाँ शनिबार साँझसम्म दुवैतर्फमा कम्तीमा तीन सय जनाको मृत्यु भइसकेको छ । प्यालेस्टिनी लडाकुहरूले आक्रमण गरेपछि इजरायलको तर्फबाट पनि युद्धको घोषणा भएको छ । त्यहाँको विभिन्न सहरमा गोलाबारी र बमको वर्षा भइरहेको विभिन्न समाचार एजेन्सीहरूले जनाएका छन् । केही नेपालीलाई गोली लागेको बताइएको छ ।
युद्ध हुन थालेपछि कतिपय श्रम गन्तव्यका श्रमिकहरूलाई एकै ठाउँमा राखिएको जनाएको छ । बम र गोलाबारी हुन थालेपछि इजरायलमा रहेको नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघले कामदारहरूसँगको सम्पर्क बढाएका छन् । कतिपय कामदारहरू आफैँ दूतावासको सम्पर्कमा पुगेका छन् । आक्रमणमा परेर करिब नौ जना नेपाली घाइते भएको पुष्टि भइसके पनि अन्य दर्जनौँ नेपालीहरू घाइते भएको जनाइएको छ । घाइते हुनेहरूको नाम र ठेगाना नेपालको परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासले शनिबार साँझसम्म सार्वजनिक गरेको छैन । यद्यपि केही सञ्चार माध्यमले घाइते नेपालीहरूको नाम सार्वजनिक गरेका छन् । नेपालीहरू कृषि, घरायसी काम र अस्पताल/नर्सिङहोमलगायतका क्षेत्रमा बढी कार्यरत छन् । घाइते नेपालीहरूको शनिबार साँझसम्म पनि उपचार हुन पाएको छैन ।
प्यालेस्टिनी लडाकुहरूविरुद्ध इजरायल सरकारले जवाफी कारबाही थालेको कारण थप जनधनको क्षति हुने आकलन गरिएको छ । नेपालीहरूले काम गरिरहेका धेरै ठाउँमा आक्रमण भएको कारण नेपालीहरूको वास्तविक अवस्था सार्वजनिक हुन सकेको छैन । प्यालेस्टिनी लडाकुहरूले आक्रमण गरेर मानिसहरू मार्नुको साथै हजारौँलाई कब्जामा लिएको जनाइएको छ । त्यस्तो कब्जामा कुन–कुन देशका नागरिक छन् भन्ने खुलेको छैन ।
प्यालेस्टिनीहरूले इजरायलमाथि गरेको आक्रमणप्रति नेपालले निन्दा गरेको छ । उक्त आक्रमणलाई नेपालले आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ । नेपालको परराष्ट्र मन्त्रालयका अनुसार नेपालीले काम गर्ने कृषि फार्ममा पनि प्यालेस्टिनी हमास समूहले आक्रमण गरेको छ । त्यसमा नौ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको आवस्था गम्भीर रहेको जनाइएको छ । १४ जना नेपाली श्रमिक भएको उक्त कृषि फर्ममा आक्रमण हुँदा नौ जना घाइते भएका हुन् । नेपाली श्रमिकहरूले काम गरिरहेको अन्य कुन–कुन ठाउँमा आक्रमण भएको छ त्यो पनि खुल्न सकेको छैन । इजरायलमा नेपालीहरूको वास्तविक अवस्था पत्ता लगाउने प्रयास भइरहेको पनि परराष्ट्रले जनाएको छ ।
इजरायलको तेल अविवमा नेपालको दूतावास छ । दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । राजदूतावासले असान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्न र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न त्यहाँ रहेका नेपालीहरूलाई अनुरोध गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूहरू युद्धमा रहेको भन्दै कडा प्रतिकारको चेतावनी दिएका छन् । उनले आफ्ना सैन्य भण्डारलाई व्यापकरूपमा परिचालन गर्न आदेश समेत दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । यसले इजरायलमा थप युद्ध हुने देखिन्छ ।
पहिलादेखिकै युद्धग्रस्त मुलुक इजरायलमा कृषि फारम, अस्पताल/नर्सिङहोम तथा विश्वविद्यालयलगायत जुनसुकै ठाउँमा बंकरहरू छन् । आक्रमण सुरु भएपछि कयौँ नेपालीहरू बंकरभित्रै रहेको जनाइएको छ । इजरायलस्थित नेपाली दूतावासले पनि आफू रहेकै सुरक्षित स्थानमा बसेर त्यहाँको सुरक्षा निकायको भनाइ अक्षरंश पालना गर्न र नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ । युद्धको कारण इजारायलको सुरक्षा अवस्था बिग्रिएको कारण रोजगारी प्रत्यक्ष प्रभावित भएको छ ।
विश्व समुदायद्वारा इजरायल आक्रमणको निन्दा
संयुक्त राष्ट्र संघले इजरायलमा भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ । संयुक्त राष्ट्र संघीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले हिंसा तत्काल रोक्न र थप रक्तपात हुन नदिन अपिल गरेका छन् ।
अमेरिकाले शनिबार विज्ञप्ति जारी गर्दै इजरायलविरुद्ध हमास ‘आतंककारी समूह’का लडाकुले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा अमेरिका इजरायली सरकार र जनताको साथमा दृढतापूर्वक उभिएको उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकु समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत कठिन घडीमा इजरायलको साथमा रहेको बताएका छन् । युरोपेली संघ (ईयु)ले पनि आक्रमणको विरोध गरेको छ । रुस, साउदी अरबले पनि युद्धबारे चिन्ता व्यक्त गरेका छन् । साउदी अरबले प्यालेस्टाइन जनतालाईृ उनीहरूको वैध अधिकारबाट निरन्तर बच्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको बताएको छ । इरानले हमासको आक्रमणको समर्थन गरेको छ ।