काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि आइतबार आश्विन २१ गते बेलायत प्रस्थान गरेका छन् । प्रधान सेनापतिले बेलायतमा रहँदा वेल्स, ब्रेकन स्थित को भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन् ।
भ्रमणका क्रममा प्रधान सेनापतिको बेलायती समकक्षी जेनेरल सन्डेर्ससँग शिष्टाचार भेटघा हुनेछ । उनले बेलायती सेनाको ल्याण्ड वारफेयर विभागका निर्देशक, रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिटरी एकेडेमीका कमाण्डरसँग भेटवार्ता गर्नेछन् ।
प्रधान सेनापतिको भ्रमणदलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी रहेका छन् । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।
प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरे । बेलायत प्रस्थान गर्नु पूर्व प्रधान सेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधान सेनापति बेलायत भ्रमण पश्चात् यही असोज २७ गते स्वदेश फर्किने कार्यक्रम छ ।