काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्वन्धी व्यवस्था संसोधन गरेपछि सेयर बजार बढ्ने अपेक्षामा बसेका लगानीकर्ताहरुले यतिखेर निराश भएका छन् । राष्ट्र बैंकले बिहिबार कार्यालय समयभन्दा पनि निकै ढिलो गरी सेयर धितो कर्जा सम्वन्धी पुरानो व्यवस्थालाई संसोधन गर्यो । सो अनुसार १२ करोड रुपैंयाँमा सिमित रहेको सेयर धितो कर्जाको सिमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागत तर्फ २० करोड रुपैंयाँ पुर्याईयो । तर यि सबैको प्रभाव सेयर बजारमा खासै देखिएन ।
सेयर धितो कर्जा सम्वन्धी व्यवस्था संसोधन भएपछि आज पहिलो दिन खुलेको सेयर बजार परिसुचक रातै देखियो । बजार परिसुचक आज ३५ दशमलव ६७ अंकले ओरालो लागेर १९ सय २१ दशमलव २४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ६७ दशमलव ५७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५९ हजार एक सय ७१ पटकको कारोबारमा ५८ लाख १५ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ८० करोड १७ लाख ६६ हजार दुई सय ९४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सबै समुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।