न्युयोर्क, वैशाख २६
विश्व बजारमा खाद्य सामग्रीको मूल्यमा अप्रिल महिनामा पनि गिरावट देखिएको संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)ले बिहीबार जानकारी गराएको छ । विश्वव्यापी महामारीका रूपमा कोरोनाभाइरसको संक्रमणका कारण खाद्यान्नको मागमा देखिएको कमीका कारण मूल्यमा गिरावट आएको हो ।
खाद्य सामग्रीको समग्र सूचकांकमा मार्चको तुलनामा अप्रिलमा ३.४ प्रतिशतले न्यूनता देखिएको र यस बर्ष निरन्तर तेस्रो पटक खाद्य सामग्रीको मूल्यमा गिरावट देखिएको र यसो हुनुमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कोरोना भाइरसको प्रकोप जिम्मेवार रहेको एफएओले जानकारी गराएको छ । अप्रिलमा सबै सह–सूचकांकमा मूल्यमा व्यापक गिरावट आएको छ र यसको अग्रता चिनीको मूल्यले लिएको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा अघिल्लो महिनाको तुलनामा १४.६ प्रतिशतको कमी देखिएको छ । एफएओका अनुसार खाद्य सामग्रीमा आएको गिरावटको एउटा कारण इन्धनको मूल्यमा देखिएको गिरावट पनि रहेको मान्न सकिन्छ ।
खाद्य सामग्रीमध्ये सबैभन्दा कम मूल्य गिरावट समग्रमा धान, गहुँ, मकै र दालजन्य सामानमा गत महिनाको तुलनामा ०.१ प्रतिशतको गिरावट भएको उल्लेख राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको तथ्यांकमा उल्लेख छ । रूसले गहुँको निर्यातमा गरेको कडाईका र विश्वमा धानको बढी मागका कारण धन र गहुँको मूल्यमा यो वर्ष उल्लेख्य वृद्धि हुने बताइएको छ भने यसलाई मकै लगायत अन्य खाद्यबालीको मूल्यमा आएको गिरावटले निकै प्रभावित पार्नेछ । ल्याटिन अमेरिकामा मकै उत्पादन र इथानोलको मागमा देखिएको कमीका कारण मकैको मूल्यमा गिरावट आएको हो ।
अप्रिलमा अघिल्लो महिनाको तुलनामा खासगरी पाल्म वनस्पती तेलको मूल्यमा ५.२ प्रतिशतको गिरावट आएको एफएओले जनाएको छ । यस्तै मागमा आएको कमीका कारण दुघ्धजन्य पदार्थको मूल्यमा घ.६ प्रतिशत मासुको मूलयमा २.७ प्रतिशतको गिरावट देखिएको छ । तर यी सामानहरूको माग चीनमा भने बढेको छ । एफएओको खाद्य मूल सूचकांक आधारवर्षको तुलनाका लागि विभिन्न ७३ खाद्य उत्पादनमा भूमिका खेल्ने २३ महत्वपूर्ण खाद्य उत्पादनमा आधारित भएर गरिएका हो ।