काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल एक्जियटा आर्थिकरूपमा धराशायी बनेको छ । दायित्व लगातार वृद्धि हुँदै जाँदा उक्त कम्पनी डुब्ने अवस्थामा पुगेको हो । गत वर्ष स्मार्टसेल २७ अर्बको दायित्व बक्यौता राखेर भागेझैँ एनसेल पनि त्यही बाटोमा जाने संकेत देखिएको छ । बक्यौता लगातार वृद्धि भइरहेको एनसेल एक्जियटा लिमिटेडको लेखापरीक्षण प्रतिवेदनले उक्त कम्पनीको आर्थिक अवस्था धराशायी भएको औँल्याएको छ ।
नेपालको सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग कडा प्रतिस्पर्धा गर्दै आइरहेको एनसेलको २०७९ असार मसान्तसम्मको कुल दायित्व ४६ अर्ब ८४ करोड ८१ लाख ९१ हजार आठ सय ५८ रुपैयाँ पुगेको छ । आव २०७७।०७८ अन्त्यसम्ममा एनसेलको कुल दायित्व ४६ अर्ब ४९ करोड ७२ लाख ९८ हजार चार सय रुपैयाँ रहेको थियो । पछिल्लो एक वर्षमा कम्पनीको बक्यौता दायित्व ३५ करोड आठ लाख ९३ हजार चार सय ५८ रुपैयाँले वृद्धि भएको छ ।
लेखापरीक्षण प्रतिवेदनमा बैंक ऋण केही घटाइएको छ भने अन्य दायित्व वृद्धि भएको छ । लेखापरीक्षण प्रतिवेदनमा २०७९ असार मसान्तसम्ममा एनसेल एक्जियटाले नेपाली बैंकहरूबाट मात्रै २० अर्ब ६७ करोड ५६ लाख ३७ हजार आठ सय ३१ रुपैयाँ ऋण लिएको छ । सोमध्ये तीन अर्ब १० करोड ‘कन्सोर्टियम टर्म लोन’ छ भने दुई अर्ब ५० करोड कन्सोर्टियम वर्किङ क्यापिटलको नाममा नेपाली बैंकबाट ऋण लिएको पाइएको छ । त्यस्तै, ‘नन करेन्ट कन्सोर्टियम टर्म लोन’ १५ अर्ब २२ करोड ५० लाख रुपैयाँको लिएको देखिएको छ । सो ऋणबापत मात्रै एनसेलले दुई अर्ब ७८ करोड रुपैयाँ ब्याज तिरेको वित्तीय विवरणमा देखिएको छ ।
कम्पनीको अन्य दायित्व २६ अर्ब नाघेको देखिएको छ । व्यापारिक भुक्तानी बक्यौता १४ अर्ब ५१ करोड, अन्य भुक्तानी बक्यौता तीन अर्ब ६५ करोड, लाभांश भुक्तानी बक्यौता तीन अर्ब १३ करोड, जीएसएम लाइसेन्स शुल्क भुक्तानी बक्यौता ८२ लाख ७६ हजार दुई सय ५० रुपैयाँ, सिमकार्ड प्रयोगकर्ताबाट अग्रीमरूपमा बुझिलिएको रकम दुई अर्ब ३० करोड ४० लाख रुपैयाँ दायित्व रहेको छ ।
त्यस्तै, कम्पनीले कर्मचारीलाई दिनुपर्ने बाँकी तलब, निवृत्तिभरण भुक्तानी बक्यौता, बोनस भुक्तानी बक्यौता, कर, स्थानीय सरकारलाई तिर्नुपर्ने कर, सामाजिक उत्तरदायित्व र विविध भुक्तानी बक्यौतासहित कुल व्यापारिक बक्यौता २६ अर्ब १७ करोड २५ लाख ५४ हजार २७ रुपैयाँ रहेको देखिएको छ ।
आव २०७८।०७९ को लेखापरीक्षणमा ४६ अर्ब कुल दायित्व देखिएको एनसेलको गत आव २०७९।०८० को असार मसान्तसम्म आउँदा कुल बक्यौता ५० अर्ब नाघिसकेको छ । कम्पनीले गत आवमा चार सय ५८ वटा टावरहरू थप गरेको थियो । सो कारण कम्पनीको दायित्व अझै बढ्ने देखिएको छ ।
कुल ७० अर्ब ६३ करोड ५७ लाख ८७ हजार दुई सय ८४ रुपैयाँ सम्पत्ति देखिएको एनसेल एक्जियटामा २७ अर्बको टावर, कम्प्युटर, ल्यापटप तथा अन्य दूरसञ्चार उपकरणहरू रहेको लेखापरीक्षणमा देखाइएको छ । यथार्थमा ७० अर्बको सम्पत्ति छैन ।
जसमा ‘डिफर ट्याक्स’ पाँच अर्ब ९२ करोड जोडिएको छ । सो घटाउँदा एनसेलसँग ६४ अर्ब ७० करोड ६४ लाख ६३ हजार आठ सय दुई रुपैयाँको सम्पत्ति रहेको देखिन्छ । सम्पत्तिको विवरणमा ब्रान्ड, लाइसेन्स र अभौतिक सम्पत्तिको रूपमा आठ अर्ब ७० करोड मूल्यांकन समावेश छ । सो घटाउँदा एनसेल एक्जियटाको खुद सम्पत्ति ५६ अर्ब ४६ हजार १३ हजार चार सय ६३ हुन आउँछ ।
सम्पत्तिमध्ये घरजग्गा, दूरसञ्चार उपकरणको कुल मूल्यांकन २७ अर्ब ६२ करोड गरिएको छ । तर, सो सम्पत्तिको सूचीमा रहेकामध्ये कम्प्युटर, ल्यापटप र दूरसञ्चारसम्बन्धी टावरसहितका उपकरणहरू धेरै पुराना भइसकेका छन् । धेरै पुराना भइसकेकाले अब धेरै वर्ष काम लाग्नेछैन । घरजग्गाबाहेकको २७ अर्बको सम्पत्ति स्मार्ट सेलको महिनादिनमा कवाडीमा गएजस्तै हुनेछ ।
गतवर्षदेखि एनसेलको गुणस्तर लगातार खस्किँदै गएपछि एकै पटक चार सय ५८ वटा नयाँ टावर जडान गरेको थियो । अबका दिनमा एनसेलले वर्षेनी सयौँ टावर र दूरसञ्चार उपकरणहरू पुनस्र्थापित गर्दा अर्बौँ रुपैयाँको लगानी थप्नुपर्ने अवस्थामा पुगिसकेको छ ।