काठमाडौँ । विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत सोमबार मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ ।
यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । अर्थमन्त्री डा. महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने जनाइएको छ ।
सोही अवसरमा युएस एडसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँचसम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवं चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल हुने छ ।
अर्थमन्त्री डा. महतले दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने छन् । अर्थमन्त्री डा. महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नेछन् ।
बैठकमा विश्वभरका एक सय ८९ देशका अर्थ तथा विकास मन्त्री, केन्द्रीय बैंकर, निजी क्षेत्रका अधिकारी, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकको सहभागिता रहनेछ । अर्थमन्त्री डा. महतका साथमा अर्थसचिव डा. कृष्णहरि पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् ।