काठमाडौं । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना एक सय १९ जना विद्यार्थी सकुशल रहेको जानकारी दिएको छ । विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक प्रा.डा.शारदा थपलियाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।
गत शनिबार इजरायलमा भएको आतंककारी हमला र दुःखद घटेको घटनाप्रति उक्त विश्वविद्यालयले खेद प्रकद गरेको विज्ञप्तीमा छ । विज्ञप्तीका अनुसार ‘एग्रिकल्चर वर्क स्टडी प्रोग्राम इन इजरायल’ कार्यक्रममा विश्वविद्यालयबाट सन् २०२३ मा ११३ र २०२२ मा ६ जना गरी एक सय १९ जना विद्यार्थीहरु इजरायल गएका थिए । साथै, थपलियाले ती विद्यार्थीलाई स्थानान्तरणको प्रयास भइरहेको जानकारी गराइन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म हामीलाई प्राप्त सूचना अनुसार यस विश्वविद्यालयका विद्यार्थीहरू इजरायलमा सकुशल रहेको जानकारी मिलेको छ । यस अप्ठ्यारो अवस्थामा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपालस्थित इजरायलको राजदूतावास एवं इजरायलस्थित नेपाली राजदूतावासलाई जानकारी दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सहयोगको लागि अनुरोध गर्ने काम भइराखेको छ । यस अवस्थामा हामी विद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहिराखेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजिम सुरक्षाका उपायहरू अपनाउन र सजग रहन अनुरोध गरिरहेका छौ ।’
