काठमाडौँ । इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् ।
सोमबार शोक विज्ञप्ति जारी गर्दै अध्यक्ष तिमिल्सिनाले विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे । उनले नेपाल फर्कन चाहने अन्यलाई तत्काल उद्धार गर्न सरकारसँग विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
“घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीको उद्धार, राहत र नेपाल फर्कन चाहनेलाई शीघ्र स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु ।” विज्ञप्तिमा भनिएको छ । अध्यक्ष तिमिल्सिनाले शोकको यस घडीमा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।