काठमाडौँ । सोमबार प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सार नियमावलीमा रहेको गलत प्रावधान खारेजीको माग गर्दै त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ । विभाग घेराउ कार्यक्रमलाई निरन्तरता दिइएको साहले जानकारी दिएका छन् ।
गत भाद्र ३१ गते आम जनता पार्टीले ललितपुरको कुपण्डोल पुलबाट विरोध र्याली निकालेर विभाग घेराउ गर्दै महानिर्देशक मार्फत ज्ञापन पत्र बुझाएको थियो । यस्तै असोज १८ गते गलत प्रावधानको नियमावली जलाएको थियो । तराई–मधेसका जिल्लाहरूको भन्सार कार्यालय असोज १९ गते घेराउ गरी आइतबारदेखि भन्सार विभाग नै घेराउ गर्न थालिएकोले सोमबार पनि निरन्तरता पाएको हो । धर्ना कार्यक्रमका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेला धकेल समेत भएको थियो ।
देशको राजस्व सङ्कलन भद्रगोल र लुटकारी भएको भन्दै सरकारी राजस्वलाई लुट्न गलत कानुनी प्रावधान निर्माण गरिएको साहले दाबी गरे ।