काठमाडौँ । मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको उल्लेख गरे ।
विगतमा गरेको गल्ती महशुस गर्दै सुधारको बाटोबाट लैजाने र असल नागरिक निर्माण गर्ने हेतुले सञ्चालन गरिएका बालसुधार गृहमा भौतिक पूर्वाधार र व्यवस्थापन चुस्त हुन नसक्दा बालबालिका एउटै खाटमा बस्ने, सुत्ने र खेल्नुपर्ने अवस्था देखिएको मन्त्री आचार्यको भनाइ छ ।
मन्त्री आचार्यले बालसुधार गृहको अवस्थाले सबैलाई लज्जाबोध सिर्जना गरेको बताए । उनले न्यूनतम पूर्वाधारको अभावमा त्यहाँ रहेका बालबालिका शौचालय जानसमेत लाइन बस्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिए ।
मुलुकका आठ स्थानमा सञ्चालनमा रहेका सुधार गृहको कमजोर भौतिक पूर्वाधारका कारण क्षमताभन्दा दोब्बर बढी सङ्ख्यामा बालबालिका राख्न बाध्य भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले बताए ।
उनले युसेफ नामक गैरसरकारी संस्थाको सञ्चालनमा भक्तपुर, मोरङ, कास्की र बाँके र सरकारी स्वामित्वमा डोटी, पर्सा, मकवानपुर र रुपन्देहीमा सुधार गृह सञ्चालन भइरहेको बताए ।
बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत गैरसरकारी संस्था सिविन नेपालका प्रतिनिधि सागर भण्डारीले बालसुधार गृह भनिए पनि त्यहाँ भौतिक पूर्वाधार, बसोबास र खानपिनको अवस्था निकै कमजोर र चुनौतीपूर्ण रहेको बताए ।