काठमाडौं । बैंकहरुले बढी ब्याज लिए भनेर कालोमोसो दल्नकै लागि ‘कालोमोसो सुरक्षा दस्ता’ खडा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सोमबार काठमाडौंको जमलस्थित एलो पगोडा होटलमा कालोमोसो दलिएपछि आम चासो बढेको छ ।
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, राकेश अदोकिया, रमेश अग्रवाल, वीर गोर्खाली अभिन्यताका संयोजक सन्तोष राजावादी, पत्रकार/राजावादी मनोज सापकोटा तथा सेयर लगानीकर्ता दिपक कार्कीलगायतको उपस्थितिमा राष्ट्रलाई लुटेर (एलिट) भनेर चिनिने कुख्यात राष्ट्रघाती, अपराधी र तस्करहरुको फोटो सार्वजनिक गर्ने बृहत् कार्यक्रम सकेर बाहिरिने क्रममा सात आठ जनाको समूहले उनीविरुद्ध नाराबाजी गर्दै कालोमोसो दलेका हुन् ।
कसले कालोमोसो दलेको पुष्टि नभए पनि कालोमोसो दल्दै नाराबाजी गर्ने युवाहरुले युवा संघ जिन्दावाद भन्दै नाराबाजी गरेको हुँदा कालोमासो दल्ने एमाले निकट रहेको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
झापाको बी एन्ड सीका सञ्चालक प्रसाईंँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को ब्याज नियन्त्रण, ऋण मिनाहालगायत माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहालीको एजेण्डा लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान घोषणा गरेर आन्दोलनमा होमिएका प्रसाईँ विवादमा र चर्चामा आइरहेका पछिल्लो समयका चर्चित व्यवसायी हुन् ।
माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईँले पछिल्लो समय विभिन्न व्यवसायी र नेतालक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए ।
उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलाई सँगै राखेर मार्सी चामलको भात खुवाएर चर्चामा आएका पात्र हुन् ।
एक समय माओवादीसँग निकट सम्बन्ध बनाएका प्रसाईँले त्यसपछि एमालेतिर लागेका थिए । एमालेमा रहेर एमाले अध्यक्ष ओलीकै विरोध गर्न थालेपछि उनलाई एमालेले कारबाहीस्वरुप पार्टीबाट निष्कासन गरेको थियो ।
त्यसयता प्रसाईँ नेताहरुले देशमा भ्रष्टाचार मात्र गर्ने बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिएर जनता मार्ने र व्यापारीहरु ठग्नकै लागि नेपालमा आएर बसेका हुन् भन्दै चर्को भाषण गर्दै हिँड्ने गरेका थिए ।
वित्तीय संस्थाहरुले लिने चर्को ब्याजको मारमा आफू समेत परेको भन्दै ब्याजदर घटाउन र नघटाए सबै वित्तीय संस्थाका कर्मचारीहरुलाई जहाँ भेट्यो त्यहीँ कालो मोसो दल्ने भन्दै कालो मोसो जत्था नै घोषणा गरेर त्रास फैलाउँदै आएका थिए ।
अरुलाई कालो मोसो दल्न बनाएको जत्थाको कामकारबाहीको विषयमा सवत्र्र चर्चासँगै विरोध भइरहँदा सोमवार उनलाई नै अज्ञात समूहले कालो मोसो दलेको छ । उनी पछिल्लो समय विशेषगरी प्रधानमन्त्री प्रचण्डको साथै एमाले अध्यक्ष ओलीको साथै मारवाडी समुदायको समेत विरोध गर्दै आइहेका थिए ।
सीमित व्यापारीहरुको हातमा देश गएको भन्दै प्रसाईँले केही मारवाडी समुदायका व्यक्तिहरुलाई कारबाही गर्नुपर्नेसम्मको अभिव्यक्ति दिँदै हिँडिरहेका प्रसाईँलाई आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा कालो मोसो दलीयपछि कसले दल्यो भनेर त्यसको व्यापक सोधीखोजी सुरु भएको छ ।