काठमाडौं । ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८०’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी शुक्रबारदेखि अन्तर्राष्ट्रियस्तरको दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो आयोजना गर्न लागेको हो ।
असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन हुने एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने पु-याउने आयोजकको दाबी छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए ।
यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने आयोजकको अपेक्षा छ । यसका साथै पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइपहरू, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरूबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ ।
इन्टरनेसनल एक्स्पोमा पाँच सय जनाभन्दा बढी विदेशी क्रेताहरू अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने बताइएको छ । यस्तै, प्रदर्शनीमा सहभागी अवलोकनकर्तालाई डिजिटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिस्ट्रेसन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपैयाँको अनलाइन गिफ्ट भौचर उपलब्ध गराइने भएको छ । सो भौचरमार्फत अवलोकनकर्ताले इन्टरनेसनल एक्स्पोस्थलमा रहेका स्टलमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेसनल एक्स्पो आईएनसीका संयोजक अधिकारीले बताए । अर्नसिक्का नामक डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजिटल कारोबारमा साझेदारी गर्न लागिएको छ ।
यस्तै, एक्स्पोस्थल लिएर उपयुक्त स्थानमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन इच्छुक सबैमा स्टल बुकिङ खुला गरिएको छ । गत वर्षको एक्स्पोमा तीन सय ५० जना विदेशी क्रेताहरूले भ्रमण गरेका थिए । यसपालिको एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय स्टल रहने भएका छन् । एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र विक्रेताबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ । विश्वका विभिन्न देशबाट क्रेताहरू भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवर्द्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जनाएको छ ।