काठमाडौं । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक साताको समय दिएर बहुमतको सरकार गठन गर्न दिएको समय सकिनै लाग्दा राप्रपाले कोशी प्रदेशमा मुख्य मन्त्री र संघीय सरकारमा उपप्रधानमन्त्री पदको बार्गेनिङ सुरु गरेको छ । यही विषयलाई लिएर सोमबार राप्रपाको संसदीय दलमा छलफल भएको बुझिएको छ ।
गठबन्धनलाई राप्रपाले समर्थन नगरी बहुमत नपुग्ने भएकाले कोशी प्रदेशमा स्थायी सरकार गठन हुन सकेको छैन । यसअघि एमाले निकट रहेको राप्रपाले नेतृत्व पाए सरकारमा जान खुट्टा उचालेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राप्रपाको शर्त स्वीकार गरेमा राप्रपाका पशुपति शमशेर राणाको नेतृत्वमा सरकारमा जाने र राप्रपा दलका नेता भक्तिप्रसाद सिटौला कोशी प्रदेशमा मुख्यमन्त्री हुने बुझिएको छ ।