काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले मिस वर्ल्ड २०२३ ‘ब्युटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग गर्ने भएको छ । डिसेम्बर २०२३ मा भारतमा हुन लागेको मिस वल्र्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्युटी विथ ए पर्पोज’ परियोजनामा कम्पनीले सहभागिता जनाउन लागेको हो ।
‘ब्युटी विथ ए पर्पोज’लाई मिस वर्ल्डमा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको पनि छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्युटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहेको बताइएको छ । कुल पाँच जनाको जनसंख्या रहेको उपरदाङगढीमा विद्युत् अनुपलब्धताका कारण यहाँका बासिन्दा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाबाट पनि बञ्चित छन् । बिजुली नपुगेका कारणले ऊर्जाका लागि उपरदाङगढीवासी दाउरा, मट्टितेल, गुइँठा आदिमा भर पर्न बाध्य छन् ।