काठमाडौं । नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय हुँदा बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो बजार विस्तारमा तिव्रता दिने भएको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोसले बजारमा लगानी जारी राख्नेछ भने अब्बल ‘डिजेल सर्भिस’ दिने जनाएको छ ।
बोस समूहका अध्यक्ष तथा बोस लिमिटेडका प्रबन्ध निर्देशक गुरूप्रसाद मुद्लापुरले नेपालमा विशिष्ट भौगोलिक लाभ र युवा उपभोक्ता जनसंख्याको अद्वितीय मिश्रण रहेकोले यस क्षेत्रमा लगानीको विशाल सम्भावना रहेको बताए । बोसले यहाँ डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेको र सोहीअनुसार लगानी बढाउने उल्लेख गरे । सन् २०२२ को मेमा नेपालमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोसले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्य सेवा क्षेत्रमा उत्पादन र समाधानहरूको विस्तृत शृंखला प्रदान गर्दै आएको थियो ।
बोसले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोस डिजेल सर्भिस (बीडीएस) साझेदारहरूको भेला आयोजना गरेको छ । उक्त भेलामा बोसका मुख्य अटोमोटिभ वितरकहरू, नेपालमा यसका बीडीएस साझेदाहरू र प्रमुख अटो ओईएमहरूसहित करिब ६५ जना सहभागी थिए । बोस नेपालका कन्ट्री हेड सन्दीप कामतले अटोमोटिभ सेग्मेन्टमा बोसले यसअघि नै तीन हजारभन्दा बढी डिलरका रूपमा नेपालका हरेक प्रदेशमा सेवा विस्तार गरिसकेको जानकारी दिए । यो विस्तारले ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मद्दत गर्ने उनको भनाइ थियो छ ।
‘मोबिलिटी’बाहेक बोसले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ । साथै बिक्रीपछिको सेवाका लागि समर्पित केन्द्र पनि स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोसको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरूमा जडान गरिएका छन् ।